धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा संसदीय दलका नेतासमेत रहेका भट्ट गत २९ साउनमा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि उनले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज विश्वासको मत लिने निर्णय गरेका हुन्।
विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइदिन मुख्यमन्त्री भट्टले मंगलबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए। सोही पत्रका आधारमा आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। आजको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राखेपछि मतदान प्रक्रिया अघि बढ्नेछ।
सुदूरपश्चिम प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेकपाका २२, नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्री भट्टले सरकार सञ्चालनका लागि प्रदेशसभाको आवश्यक बहुमत जुटाउनुपर्नेछ। विश्वासको मत प्राप्त गर्न उनले आफ्नो दलसँगै अन्य दलका प्रदेशसभा सदस्यको समर्थनसमेत आवश्यक पर्ने देखिएको छ।



