काठमाडौँ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आउनुभएका सेनाध्यक्ष सेठलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।
यसअघि सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा नेपाल र भारतबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा छलफल भएको थियो ।
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गर्नुभएको छ । उहाँले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको थियो ।
सेनाध्यक्ष सेठ पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएको हो । टोलीमा उहाँकी श्रीमती कोमल सेठसमेत सहभागी हुनुहुन्छ । चारदिने भ्रमण पूरा गरी उहाँ भोलि भारत फर्कने कार्यक्रम रहेको छ ।



