काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको हो।
विभागका अनुसार विद्युतीय व्यापार ऐन, २०८१ तथा विद्युतीय व्यापार निर्देशिका, २०८२ बमोजिम कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरेमा कारबाही गरिनेछ।
कम्प्युटर, मोबाइल वा यस्तै विद्युतीय उपकरणमार्फत वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट, सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल मार्केटप्लेसबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायी सूचीकृत हुनुपर्ने विभागले जनाएको छ।
उपभोक्ता ठगी तथा अनलाइन कारोबारसम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन दर्ता प्रक्रियामा कडाइ गरेको हो।
विभागले अनलाइन व्यापार सञ्चालन गरिरहेका व्यवसायीलाई तोकिएको कानुनी प्रक्रिया पूरा गरी समयमै सूचीकृत हुन आग्रह गरेको छ।



