काठमाडौं -थाइल्याण्ड भ्रमणमा रहेका नेपाल व्यापार संघका सचिव तथा युवा व्यवसायी प्रविन बगालेले बैंककस्थित नेपाली राजदूतावासमा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसँग शिष्टाचार भेटघाट गर्नुभएको छ।
भेटका क्रममा नेपाल–थाइल्याण्डबीचको व्यापारिक सम्बन्ध विस्तार, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, पर्यटन विकास तथा नेपाली श्रमिकका लागि रोजगारीका अवसर सिर्जनालगायतका विषयमा छलफल भएको थियो।
सो अवसरमा राजदूत वलीले थाइल्याण्डमा नेपाली कामदार पठाउने विषयमा संख्याभन्दा पनि सीपयुक्त तथा प्राविधिक जनशक्तिमा जोड दिनुपर्ने बताउनुभयो। नेपाली युवालाई आवश्यक सीप तथा प्राविधिक दक्षता प्रदान गरी अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउन सके रोजगारीका थप अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ थियो।

राजदूत वलीले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न स्वदेशी उत्पादन, मौलिकता र नेपालको पहिचानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। नेपालका उत्पादनलाई पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा लैजान सके व्यापारसँगै पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले उल्लेख गर्नुभयो।
युवा व्यवसायी बगालेले आफूले नेपालमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएको र दर्जनौँ नेपालीसहित भारतीयमूलका नागरिकलाई रोजगारी दिँदै आएको बताउनुभयो। तर, पछिल्लो समय आफूले रोजगारी दिइरहेका नेपाली कामदारहरू क्रमशः बाहिरिन थालेकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो।
नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ठूलो रहे पनि विदेशमै नेपाली व्यवसायीले रोजगारी सिर्जना गरेका क्षेत्रमा समेत नेपाली कामदार टिकाउन नसक्नु गम्भीर विषय भएको बगालेको भनाइ थियो। नेपाली कामदारलाई आवश्यक सीप, दक्षता र व्यावसायिक प्रशिक्षण प्रदान गर्न सके अन्तर्राष्ट्रिय बजारमा उनीहरूको माग अझ बढ्ने उहाँले बताउनुभयो।
बगालेले थाइल्याण्डले पर्यटन तथा व्यापारको क्षेत्रमा हासिल गरेको सफलता नेपालका लागि महत्वपूर्ण सिकाइको विषय भएको बताउनुभयो। नेपालमा प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनसँगै कृषि, हस्तकला, खाद्य तथा अन्य मौलिक उत्पादनको ठूलो सम्भावना रहेकाले अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ थियो।
नेपाल र थाइल्याण्डबीच निजी क्षेत्रमार्फत व्यापारिक सम्बन्ध थप विस्तार गर्न सकिने सम्भावनाबारे समेत भेटमा छलफल भएको थियो। नेपाली उत्पादनलाई थाइल्याण्डको बजारसम्म पुर्याउने तथा दुई देशका व्यवसायीबीच व्यापारिक सहकार्य र अनुभव आदानप्रदानलाई बढावा दिनुपर्नेमा बगालेले जोड दिनुभयो।
भेटमा पर्यटन व्यवसायी तथा होटल संघ नेपाल, बाग्मती प्रदेशका अध्यक्ष रामसुन्दर बके, सञ्चारकर्मी सचिन दाहाल र रामदत्त मिश्रलगायतको सहभागिता रहेको थियो।
भेटपछि बगालेले राजदूत वलीसँग नेपालको व्यापार, पर्यटन, नेपाली उत्पादन र रोजगारीका विषयमा प्रत्यक्ष छलफल गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले नेपालका युवा उद्यमी तथा व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नेपाली सीप र जनशक्तिको प्रवद्र्धन गर्न यस्ता भेटघाट तथा सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।



