काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागप्रति सरकारले उदासीनता देखाएको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ ।
सङ्घका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने निर्णय गरिएको छ ।
यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत सङ्घले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिसकेको थियो । जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा समाप्त भएपछि सोमबारदेखि सम्पूर्ण काम–कारोबार ठप्प पार्न लागिएको सङ्घले जनाएको छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतले आइतबार राति १२ बजेसम्म प्रक्रिया पूरा भएका श्रमिकलाई उडान गरिसक्न सबै म्यानपावर कम्पनीलाई एक साताअघि नै सर्कुलर जारी गरिएको बताउनुभयो । उक्त समयसीमासम्म प्रक्रिया पूरा भएका श्रमिकको उडान गरिए पनि त्यसपछि भने सबै उडान रोक्ने उहाँले जानकारी दिनुभयो ।
श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे कुनै ठोस सहमति हुन नसकेको सङ्घको भनाइ छ । मन्त्रालयको टोलीसँग छलफल भए पनि मन्त्रिस्तरमा वार्ता नभएको र सरकारले व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको सङ्घले आरोप लगाएको छ ।
सोमबारदेखि काठमाडौँस्थित मुख्य कार्यालयसहित देशभरका शाखा कार्यालय, नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी एवं प्रशासनिक काम–कारोबार बन्द हुनेछन् ।
सङ्घका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलनलाई व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा उल्लेख गरिएको छ । मागको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगरिने सङ्घले जनाएको छ ।
सङ्घले सरकारसँग वार्ताका लागि ढोका खुला रहेको बताए पनि ठोस कदम नचालेसम्म काममा नफर्कने अडान लिएको छ । साथै, सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न निर्देशन दिँदै निर्णय अवज्ञा गर्ने संस्थालाई सङ्घबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गर्ने चेतावनीसमेत दिएको छ ।



