काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले उहाँ कार्यरत जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ । प्रहरीले बिहीबार बिहान सानेपास्थित जनआस्था कार्यालयमा पुगेर कागजपत्र तथा विभिन्न विद्युतीय उपकरणको खानतलासी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो ।
प्रहरीको टोली बिहान करिब ७ बजे जनआस्था कार्यालय पुगेको थियो । चार–पाँच जना प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए । कार्यालयमा रहेका एक पत्रकारका अनुसार प्रहरीले कागजपत्र तथा विभिन्न इलेक्ट्रोनिक उपकरणसमेत संकलन गरेको थियो ।
पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । उहाँविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघकी अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै उहाँको पक्राउप्रति आपत्ति जनाएका छन् ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुनुहुन्छ । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाउनुभएका उहाँ निर्भीक र खरो पत्रकारका रूपमा परिचित हुनुहुन्छ ।



