उपचारका लागि विदेश गएका देउवा दम्पती आज नेपाल फर्किदै

 

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला ‘स्वास्थ्य उपचार’का लागि भन्दै विदेश गएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा आज नेपाल फर्किने भएका छन् ।।उहाँ कांग्रेस इतरपक्षको भेलामा समेत सहभागी हुने बताइएको छ ।

पूर्वप्रधानमन्त्री देउवा गत १३ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जानुभएको थियो । उहाँ त्यसयता विदेशमै रहनुभएको छ । आरजु राणा भने गत २१ पुसमा काठमाडौं हुँदै दिल्ली जानुभएको र त्यसपछि सिंगापुर पुगेको बताइएको छ । दुवै जनाले आफूहरू स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेको बताउँदै आए पनि कुन देशको कुन अस्पतालमा र के उपचार भइरहेको छ भन्नेबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिनुभएको छैन ।

देउवा दम्पती लामो समयदेखि विदेशमा रहँदा उपचार तथा बसाइको खर्चको स्रोतबारे समेत प्रश्न उठ्दै आएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उहाँहरूविरुद्ध अनुसन्धान अघि बढाइरहेको छ भने अनुसन्धानका क्रममा दुवै जनाको चल–अचल सम्पत्ति रोक्का राखिएको बताइएको छ ।

यसअघि २५ चैतमा पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत आफूहरू स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचार जारी रहेको जानकारी दिनुभएको थियो । उहाँले सार्वजनिक भएका अतिरञ्जित विवरणबाट भ्रममा नपर्नसमेत आग्रह गर्नुभएको थियो ।

यता, कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवा दम्पती उपचारका क्रममा विदेशमा रहेको जानकारीबाहेक उहाँहरूको बसाइ र उपचार खर्चलगायतका विषयमा पार्टीलाई आधिकारिक जानकारी नभएको बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंकका स्रोतका अनुसार देउवा दम्पतीले स्वास्थ्य उपचारका लागि भनेर राष्ट्र बैंकबाट विदेशी मुद्रा सटहीको सुविधा लिएको देखिएको छैन । यद्यपि वाणिज्य बैंकमार्फत लिएको विदेशी मुद्रा सटहीको विवरण राष्ट्र बैंकमा नआउन सक्ने बताइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि देउवा दम्पतीसहित परिवारका केही सदस्यको सम्पत्ति रोक्का राख्दै अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा विभागले जिल्ला अदालत काठमाडौंमार्फत पक्राउ पुर्जी जारी गराउने प्रयाससमेत गरेको थियो । तर सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी निष्क्रिय भएको थियो ।

देउवा दम्पतीले भने आफूहरू अनुसन्धानमा सहयोग गर्न तयार रहेको जनाउँदै विभागलाई पत्राचार गर्नुभएको थियो । उहाँहरूले आफूहरू नेपाल आउन चाहेको र अनुसन्धानमा सहजीकरण गरिदिन आग्रहसमेत गर्नुभएको बताइएको छ ।

यसैबीच, विदेशमा लामो समयसम्म बस्दा भइरहेको खर्चको स्रोत, उपचारको वास्तविक अवस्था तथा अनुसन्धानमा उहाँहरूको उपस्थितिबारे विभिन्न प्रश्न उठिरहेका छन् । देउवा नेपाल फर्किएपछि सम्बन्धित अनुसन्धानकारी निकायमा उपस्थित भएर बयान दिने वा नदिने विषय भने अझै स्पष्ट भइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्