लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

 

काठमाडौं  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ।

नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नुभएको हो।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। हाल एमालेका २९ र नेकपाका १२ जना सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्‍याउन पाँच सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि समर्थन गर्ने भएको छ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएलगत्तै नेकपा र जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ। नयाँ सत्ता समीकरणअनुसार मन्त्रालय बाँडफाँट र मन्त्री छनोटबारे दलहरूबीच छलफल भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्