शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारतले नेपाललाई ८० करोड ३० लाख सहयोग गर्ने

 

काठमाडौं । भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न परियोजना सञ्चालनका लागि ८० करोड ३० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ।

परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा मंगलबार नेपाल सरकारका सम्बन्धित निकाय तथा नेपालस्थित भारतीय राजदूतावासका अधिकारीहरूले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन गरिनेछ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण गरिनेछ।

त्यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण गरिनेछ भने सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण हुनेछ।

बागमती प्रदेशअन्तर्गत धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण गरिनेछ। कर्णाली प्रदेशको दैलेखस्थित डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल निर्माण गर्ने योजना छ।

त्यसैगरी, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवर्द्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ।

सम्झौताअनुसार उल्लेखित परियोजनाहरू नेपाल सरकारका सम्बन्धित स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिनेछन्। यी परियोजनाले स्थानीय तहमा शिक्षा, स्वास्थ्य तथा कृषि पूर्वाधारको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्