काठमाडौं – थाइल्याण्ड भ्रमणमा रहनुभएका पर्यटन व्यवसायी तथा होटल संघ नेपाल, बाग्मती प्रदेशका अध्यक्ष रामसुन्दर बके नेतृत्वको टोलीले बैंककस्थित थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसँग शिष्टाचार भेटघाट गरेको छ।
भेटका क्रममा नेपालको पर्यटन प्रवद्र्धन, थाइल्याण्डको सफल पर्यटन मोडलबाट नेपालले सिक्न सक्ने विषय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल भएको थियो।
विश्व पर्यटन बजारमा सफल गन्तव्यका रूपमा स्थापित थाइल्याण्डले व्यवस्थित ब्रान्डिङ, विविध पर्यटन उत्पादन, आक्रामक अन्तर्राष्ट्रिय मार्केटिङ, पूर्वाधार विकास, निजी क्षेत्रसँगको सहकार्य तथा पर्यटकमैत्री सेवामार्फत आफ्नो पर्यटन उद्योगलाई विश्वस्तरमा स्थापित गरेको विषयमा छलफल केन्द्रित रहेको थियो।

सो अवसरमा राजदूत ओलीले नेपालको पर्यटन तथा नेपाली उत्पादनको प्रवद्र्धनका लागि स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको थियो। नेपालले आफ्नै उत्पादन, मौलिकता र पहिचानलाई पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो।
नेपालको पर्यटन विकासका लागि सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी तथा सम्बन्धित सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा पनि राजदूत ओलीले राख्नुभएको थियो।

भेटका क्रममा पर्यटन व्यवसायी बकेले थाइल्याण्डले पर्यटन क्षेत्रमा हासिल गरेको सफलता नेपालका लागि महत्वपूर्ण सिकाइ हुन सक्ने बताउनुभएको थियो। नेपालको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनको सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सके नेपालले पर्यटन क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सक्ने उहाँको भनाइ थियो।
नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा व्यवस्थित ब्रान्डिङ र प्रभावकारी प्रचार-प्रसारसँगै निजी क्षेत्र र सरकारबीच थप सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो। भेटमा सञ्चारकर्मी सचिन दाहाल , रामदत्त मिश्रको समेत सहभागिता रहेको थियो।
भेटपछि पर्यटन व्यवसायी बकेले राजदूत ओलीले दिनुभएको आत्मीय आतिथ्यता तथा शुभेच्छाप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। महामहिम राजदूत ओलीसँग भेटघाट गरी नेपालको पर्यटन र उत्पादन प्रवद्र्धनका विषयमा प्रत्यक्ष छलफल गर्ने अवसर प्राप्त हुनु आफ्ना लागि सम्मानको विषय भएको उहाँले बताउनुभएको छ।

थाइल्याण्डमा हात्तीले पर्यटनको महत्वपूर्ण हिस्सा ओगटिरहेको र हात्तीमार्फत इतिहास, संस्कृति तथा पर्यटनलाई जोडेर प्रवद्र्धन गरिरहेको अवस्थामा नेपालले भने हात्ती सफारीमा समेत रोक लगाउने दिशामा अघि बढ्नु दुःखद् भएको पर्यटन व्यवसायी रामसुन्दर बकेले बताउनुभएको छ। उहाँले पशु अधिकार र संरक्षणको विषयलाई सम्मान गर्दै हात्तीको कल्याण सुनिश्चित गर्न वैज्ञानिक मापदण्ड र प्रभावकारी नियमन गर्नुपर्नेमा जोड दिनुभयो। ‘हात्तीमाथि क्रूरता हुनु हुँदैन, तर गलत अभ्यास सुधार गर्ने र कडा नियमन गर्ने विकल्प हुँदाहुँदै पर्यटनसँग जोडिएको हात्ती सफारीलाई नै रोक लगाउनु उचित हुँदैन,’ बकेले भन्नुभयो। नेपालको पर्यटन, स्थानीय रोजगारी र निजी क्षेत्रको लगानीलाई समेत ध्यानमा राख्दै प्रतिबन्धभन्दा जिम्मेवार र व्यवस्थित हात्ती पर्यटनको नेपाली मोडल विकास गर्नुपर्ने उहाँको धारणा छ।
‘नेपालको पर्यटनलाई अगाडि बढाउन सबै पक्ष एकजुट भएर काम गर्नुपर्छ। आफ्नै उत्पादन, मौलिकता र पहिचानलाई प्राथमिकतामा राख्दै पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा लैजान सक्यौँ भने नेपालको पर्यटनले नयाँ उचाइ हासिल गर्न सक्छ,’ बकेले बताउनुभएको छ।




