काठमाडौँ – मानव सभ्यताको प्रारम्भिक कालदेखि नै हात्ती मानिससँग जोडिँदै आएको र समयअनुसार यसको भूमिका परिवर्तन हुँदै आएको भन्दै पर्यटन व्यवसायी रामसुन्दर बकेले नेपालमा हात्ती पर्यटनबारे भावनाभन्दा अध्ययन, तथ्य र विज्ञानमा आधारित नीति आवश्यक रहेको बताउनुभएको छ।
थाइल्यान्ड भ्रमणका क्रममा हात्तीको ऐतिहासिक तथा पर्यटकीय प्रयोगलाई नजिकबाट अवलोकन गर्नुभएका बकेले हात्तीको पुरानो भूमिका समाप्त भए पनि यसको महत्व समाप्त नभएको धारणा राख्नुभएको छ। उहाँका अनुसार हिजो हात्ती युद्धको शक्ति थियो भने आज इतिहास, संस्कृति, संरक्षण र पर्यटनको माध्यम बन्न सक्ने अवस्थामा पुगेको छ।
बकेका अनुसार दक्षिण तथा दक्षिण–पूर्वी एसियाको इतिहासमा हात्तीको सम्बन्ध राज्यसत्ता, युद्ध, कृषि, यातायात, संस्कृति र अर्थतन्त्रसँग गहिरो रूपमा जोडिएको छ। आधुनिक हतियार, मोटरगाडी तथा अन्य यातायातका साधनको विकाससँगै हात्तीको परम्परागत भूमिका घटे पनि पर्यटनले त्यसलाई नयाँ परिचय दिएको उहाँको भनाइ छ।
थाइल्यान्डमा इतिहास देखाउने हात्ती
थाइल्यान्डको पट्टयास्थित नुङ नूच ट्रपिकल बोटानिकल गार्डेन भ्रमणका क्रममा आफूले ऐतिहासिक युद्धको सांस्कृतिक प्रस्तुति हेरेको उल्लेख गर्दै बकेले त्यसबाट हात्तीको बदलिएको भूमिकालाई अझ गहिरोसँग महसुस गरेको बताउनुभएको छ।
उहाँका अनुसार सांस्कृतिक प्रस्तुतिमा राजाहरू हात्ती चढेर युद्धमा गएको दृश्य देखाइएको थियो। युद्धको संगीत, सैनिकहरूको आवाज र हात्तीको उपस्थितिले इतिहासलाई वर्तमानमै अनुभूति गराएको उहाँले बताउनुभयो।
‘हिजो युद्धमा प्रयोग भएको हात्ती आज इतिहास सम्झाउने माध्यम बनेको छ,’ बकेको धारणा छ, ‘हिजो राजाको शक्ति देखाउने हात्ती आज संसारभरबाट आएका पर्यटकलाई देशको इतिहास र संस्कृति देखाउने माध्यम बनेको छ।’
थाइल्यान्डले आफ्नो इतिहासलाई पर्यटनसँग जोडेर हात्तीलाई त्यसको महत्वपूर्ण पात्रका रूपमा प्रस्तुत गरेको उहाँको भनाइ छ।
चितवनमा हात्तीले पाएको नयाँ जीवन
नेपालको तराई क्षेत्रमा समेत विगतमा राजा तथा जमिनदारहरूले सवारी, जंगल आवतजावत, कृषि तथा भारी सामान ओसार्न हात्ती पाल्ने गरेको स्मरण गर्दै बकेले सामाजिक तथा आर्थिक संरचनामा आएको परिवर्तनसँगै हात्तीको परम्परागत उपयोग घट्दै गएको बताउनुभएको छ।
आधुनिक यातायात र कृषि उपकरणको विकासपछि हात्ती पाल्नु महँगो बन्दै गएपछि यसको भविष्यबारे प्रश्न उठेको र त्यसको एउटा उत्तर पर्यटनले दिएको उहाँको भनाइ छ।
चितवनमा जंगल पर्यटनको विकाससँगै हात्तीलाई सफारीका लागि प्रयोग गर्न थालिएको र त्यसले नेपालको वन्यजन्तु पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन योगदान गरेको उहाँले उल्लेख गर्नुभएको छ।
सौराहामा निजी क्षेत्रको सहभागितासँगै हात्ती सफारी विस्तार भएपछि हिजो राजा तथा जमिनदारले मात्र चढ्ने हात्ती आज नेपाली तथा विदेशी पर्यटकका लागि पर्यटनको आकर्षण बनेको उहाँको भनाइ छ।
‘जमिनदारले पाल्न नसकेको हात्ती पर्यटनको दूत बनेर संसारमा नेपाल चिनाउन निस्कियो,’ बकेले भन्नुभएको छ।
इको–टुरिजमको जननी : हात्ती र जंगलको जीवनचक्र
बकेले चितवनमा विकसित हात्ती सफारीलाई नेपालको इको–टुरिजमको महत्वपूर्ण आधारका रूपमा हेर्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार हात्तीमा बसेर जंगल सफारी गर्ने अभ्यासले पर्यटकलाई मनोरञ्जन मात्र नभई जंगल, वन्यजन्तु र प्रकृतिको जीवनचक्रसँग प्रत्यक्ष जोड्ने काम गरेको छ।
हात्ती आफैं पनि जंगलको प्राकृतिक जीवनचक्रको महत्वपूर्ण हिस्सा रहेको उहाँले बताउनुभएको छ। हात्तीले खाने वनस्पतिका बीउ दिसामार्फत एक ठाउँबाट अर्को ठाउँमा पुग्ने र अनुकूल वातावरणमा नयाँ बिरुवा उम्रने भएकाले जंगलको प्राकृतिक पुनरुत्पादनमा समेत हात्तीको भूमिका रहने उहाँको भनाइ छ।
‘एउटा हात्ती जंगलभित्र हिँडिरहेको हुन्छ, तर उसको यात्रासँगै जंगलको अर्को पुस्ताको सम्भावना पनि फैलिरहेको हुन्छ,’ उहाँले भन्नुभएको छ।
त्यसैले हात्तीलाई केवल पर्यटक चढ्ने साधनका रूपमा नभई जंगल, वन्यजन्तु र प्रकृतिको जीवनचक्र बुझाउने माध्यमका रूपमा विकास गर्नुपर्ने उहाँको धारणा छ।
हात्ती केवल जनावर होइन, पर्यटन अर्थतन्त्रको आधार
सौराहामा हात्ती एउटा जनावरमा मात्र सीमित नरहेको भन्दै बकेले त्यससँग ठूलो पर्यटन अर्थतन्त्र जोडिएको बताउनुभएको छ। हात्ती पाल्ने व्यवसायी, माहुते, पशु चिकित्सक, खाना तथा हेरचाहमा संलग्न जनशक्ति, सफारी सञ्चालक, पर्यटक गाइड, होटल तथा रिसोर्ट, यातायात, स्थानीय पसल, रेस्टुरेन्ट तथा हस्तकलासहित धेरै क्षेत्र हात्ती पर्यटनसँग जोडिएको उहाँले उल्लेख गर्नुभएको छ।
हात्ती सफारी बन्द हुँदा त्यसको असर एउटा जनावर वा व्यवसायीमा मात्र नभई समग्र स्थानीय अर्थतन्त्रमा पर्ने उहाँको भनाइ छ।
त्यसैले हात्ती सफारीको बहसलाई केवल पशु अधिकारको विषयमा सीमित गर्न नहुने भन्दै उहाँले पशु अधिकार, पर्यटन, स्थानीय रोजगारी, निजी लगानी, संरक्षण र राज्यको नीतिगत जिम्मेवारीलाई एकैसाथ हेर्नुपर्ने बताउनुभएको छ।
पशु अधिकारको सम्मान, तर समाधान प्रतिबन्ध मात्र होइन
हात्तीमाथि क्रूर व्यवहार हुनु नहुनेमा आफू स्पष्ट रहेको बकेले बताउनुभएको छ। हात्तीलाई यातना दिन नहुने, अस्वाभाविक रूपमा लामो समय काममा लगाउन नहुने तथा बिरामी वा घाइते हात्तीलाई काममा लगाउन नहुने उहाँको धारणा छ।
हात्तीको स्वास्थ्य, खाना, पानी, आराम र प्राकृतिक व्यवहारको सम्मान हुनुपर्ने उहाँले बताउनुभएको छ।
तर गलत अभ्यासलाई सुधार गर्ने सम्भावना हुँदाहुँदै हात्ती सफारी पूर्ण रूपमा बन्द गर्नु मात्र समाधान हुन नसक्ने उहाँको तर्क छ।
‘यदि कुनै ठाउँमा गलत अभ्यास भइरहेको छ भने त्यसलाई सुधार्न सकिँदैन? मापदण्ड बनाउन सकिँदैन? वैज्ञानिक ढंगले नियमन गर्न सकिँदैन?’ उहाँले प्रश्न गर्नुभएको छ।
उहाँले हात्तीको काम गर्ने समय तोक्ने, अनिवार्य आरामको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, क्रूर प्रशिक्षण रोक्ने र पशु चिकित्सकको निगरानीमा हात्ती राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।
थाइल्यान्डबाट उठेको अर्को प्रश्न
थाइल्यान्डमा हात्ती पर्यटनसँग जोडिएको अभ्यास देखेपछि अन्तर्राष्ट्रिय पशु अधिकारको बहसमा मापदण्ड समान हुनुपर्ने प्रश्न आफ्नो मनमा उठेको बकेले बताउनुभएको छ।
उहाँका अनुसार थाइल्यान्डमा समेत हात्ती पर्यटनसँग जोडिएका विभिन्न अभ्यास देखिन्छन्। त्यसैले नेपालमा हात्ती पर्यटनबारे नीति बनाउँदा अन्तर्राष्ट्रिय अभ्यास, वैज्ञानिक अध्ययन र स्थानीय वास्तविकतालाई समान रूपमा हेर्न आवश्यक छ।
ठूला र साना देशमा पशु अधिकार तथा पर्यटनसम्बन्धी मापदण्ड फरक ढंगले लागू हुने अवस्था हुनु नहुने उहाँको भनाइ छ।
‘म कुनै देशले पशुमाथि क्रूरता गरोस् भन्ने पक्षमा छैन। तर अन्तर्राष्ट्रिय मापदण्ड सबै ठाउँमा समान हुनुपर्छ भन्ने मेरो प्रश्न हो,’ उहाँले भन्नुभएको छ।
निजी लगानीको संरक्षण पनि राज्यको जिम्मेवारी
सौराहामा पर्यटन सेवामा प्रयोग भइरहेका हात्तीमा निजी क्षेत्रको ठूलो लगानी रहेको उल्लेख गर्दै बकेले हात्ती सफारी बन्द गर्ने निर्णय गर्दा निजी सम्पत्तिको व्यवस्थापनबारे पनि स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ।
नेपालको संविधानले सम्पत्तिको हकलाई मौलिक हकका रूपमा स्वीकार गरेको उल्लेख गर्दै उहाँले कानुन मानेर व्यवसाय गरिरहेका व्यक्तिको सम्पत्ति प्रयोग गर्न नपाउने अवस्था सिर्जना भए राज्यले वैकल्पिक व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।
‘यो प्रश्न उठाउनु निजी स्वार्थको कुरा मात्र होइन, राज्य र नागरिकबीचको कानुनी सम्बन्धको प्रश्न हो,’ उहाँको भनाइ छ।
कानुन मानेर हात्ती पालेका पर्यटन व्यवसायीलाई अपराधीको रूपमा चित्रण गर्न नहुने भन्दै उहाँले पशु कल्याणका मापदण्ड उल्लंघन गर्ने जोसुकैलाई भने कानुनअनुसार कारबाही हुनुपर्ने बताउनुभएको छ।
प्रतिबन्धभन्दा नियमनको बाटो
बकेले नेपालले हात्ती सफारीलाई पुरानै ढाँचामा निरन्तरता दिन नहुने तर एकैपटक पूर्ण रूपमा बन्द गर्नु पनि उचित विकल्प नहुन सक्ने बताउनुभएको छ।
उहाँले जिम्मेवार हात्ती पर्यटनको नेपाली मोडल विकास गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ। त्यसका लागि हात्तीलाई दैनिक निश्चित समयभन्दा बढी काममा लगाउन नपाइने, पर्याप्त आरामको व्यवस्था गर्ने, अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, पशु चिकित्सकको नियमित निगरानी राख्ने, वैज्ञानिक रूपमा खाना र पानीको मापदण्ड निर्धारण गर्ने तथा व्यवस्थित बासस्थानको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ।
क्रूर प्रशिक्षण पूर्ण रूपमा बन्द गर्नुपर्ने, पीडा दिने उपकरणको प्रयोगमा कडा नियन्त्रण गर्नुपर्ने र अस्वस्थ, गर्भवती तथा वृद्ध हात्तीलाई काममा लगाउन नहुने उहाँको भनाइ छ।
त्यस्तै, पर्यटकको व्यवहारसमेत नियमन गरी प्रत्येक हात्तीको स्वास्थ्य, उमेर, कामको समय र उपचारको विवरणसहित डिजिटल अभिलेख राख्नुपर्ने उहाँले बताउनुभएको छ।
नेपालको आफ्नै हात्ती पर्यटन मोडल किन नबनाउने?
थाइल्यान्ड, भारत तथा अफ्रिकाका वन्यजन्तु पर्यटनका अनुभवबाट सिक्नुपर्ने तर तिनको हुबहु नक्कल गर्न नहुने बकेको धारणा छ।
नेपालको भूगोल, समाज, पर्यटन, हात्तीको संख्या, स्थानीय समुदाय र आर्थिक संरचना फरक भएकाले अन्तर्राष्ट्रिय अनुभवलाई आधार बनाएर नेपाली विशेषताको हात्ती पर्यटन मोडल बनाउन सकिने उहाँले बताउनुभएको छ।
उहाँका अनुसार यस्तो मोडलमा हात्ती केवल पर्यटक चढ्ने साधन नभई हात्ती संरक्षण, वन्यजन्तु शिक्षा, सांस्कृतिक इतिहास, जंगल पर्यटन र स्थानीय अर्थतन्त्रको साझा सम्पदा बन्नुपर्छ।
‘हात्तीलाई जोगाऔँ, तर हात्ती पाल्ने मानिसलाई नष्ट गरेर होइन’
पर्यटन व्यवसायीका रूपमा आफूले हात्तीको विषयलाई व्यवसायको आँखाले मात्र नहेरेको बकेले बताउनुभएको छ।
थाइल्यान्डमा इतिहाससँग जोडिएको हात्ती, चितवनमा पर्यटनसँग जोडिएको हात्ती, हात्ती पाल्ने व्यवसायीको लगानी, माहुतेको श्रम, पर्यटकको उत्साह र हात्तीको भविष्यप्रतिको चिन्ता आफूले नजिकबाट अनुभव गरेको उहाँको भनाइ छ।
‘हात्तीलाई जोगाऔँ, तर हात्ती पाल्ने मानिसलाई नष्ट गरेर होइन। पशु अधिकारको रक्षा गरौँ, तर तथ्य र विज्ञानलाई छोडेर होइन। पर्यटनको विकास गरौँ, तर हात्तीको पीडामाथि होइन,’ उहाँले भन्नुभएको छ।
उहाँले निजी लगानीको सम्मान गर्दै कानुनभन्दा माथि कसैलाई राख्न नहुने र हात्तीसम्बन्धी निर्णय अध्ययन, तथ्य, विज्ञान र न्यायपूर्ण नीतिका आधारमा हुनुपर्ने बताउनुभएको छ।
‘प्रतिबन्ध लगाउनु सजिलो हुन्छ, नयाँ बाटो बनाउनु राज्यको परीक्षा हो’
बकेका अनुसार हिजो हात्ती राज्यको सीमा जोगाउने सैन्य शक्ति थियो भने आज त्यसले नेपालको पर्यटनको सीमा विस्तार गर्न सक्छ। हात्ती इतिहास, संस्कृति, संरक्षण र पर्यटनको शक्ति बन्न सक्ने उहाँको धारणा छ।
उहाँले हात्तीलाई केवल ‘सवारी’ नभई जीवित सम्पदाका रूपमा हेर्नुपर्ने बताउनुभएको छ।
चितवनमा हात्ती र वन्यजन्तुको सम्बन्धबारे अन्तर्राष्ट्रियस्तरको पर्यटन शिक्षा केन्द्र तथा हात्ती संरक्षण केन्द्र स्थापना गर्न सकिने, जिम्मेवार हात्ती पर्यटनको विश्वस्तरीय मापदण्ड विकास गर्न सकिने र पर्यटकलाई हात्ती चढाउने मात्र नभई हात्तीको जीवन, इतिहास, संस्कृति तथा संरक्षणबारे जानकारी दिने पर्यटन विकास गर्न सकिने उहाँको सुझाव छ।
थाइल्यान्ड भ्रमणपछि हात्तीको भविष्यबारे आफ्नो धारणा अझ बलियो भएको बताउँदै बकेले प्रश्न गर्नुभएको छ-हामीले हात्तीलाई इतिहासबाट हटाउने कि इतिहासलाई नयाँ अर्थ दिएर हात्तीको भविष्य बनाउने?
‘म दोस्रो बाटो रोज्न चाहन्छु। किनकि प्रतिबन्ध लगाउनु सजिलो हुन्छ। तर संरक्षण, नियमन, सुधार र सहअस्तित्वको नयाँ बाटो बनाउनु नै राज्यको वास्तविक परीक्षा हो,’ उहाँले भन्नुभएको छ।



