दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको सम्पत्ति अनुसन्धानमा अख्तियार

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव तथा उनीहरूको परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ। आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव गंगा दाहालको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो।

अख्तियारसम्बद्ध स्रोतका अनुसार भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि १३ पाने फारम भराइसकिएको छ। उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको परिवारका नाममा रहेको बैंक खाता, जग्गा तथा शेयरलगायत सम्पत्तिको विवरण संकलन भइरहेको छ।

त्यस्तै, गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिमाथि पनि अनुसन्धान सुरु गरिएको छ। आचार्य कोशी प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन्। अख्तियारका अनुसार अनुसन्धानका क्रममा परिवारका सदस्यसमेत जोडिने भएकाले आचार्यको सम्पत्तिमाथि पनि छानबिन अघि बढाइएको हो। उनीहरूको अनुसन्धान भानु देउवाको तुलनामा केही अगाडि बढेको र केही सम्पत्तिको स्रोत खुलाउन थप विवरण माग्ने काम भइरहेको स्रोतले जनाएको छ।

यसअघि अख्तियारले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि पनि अनुसन्धान सुरु गरिसकेको छ। बज्राचार्यलाई अख्तियारको टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरणसमेत भराइएको आयोगसम्बद्ध स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्