३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न अब इजाजतपत्र अनिवार्य

 

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य भएको स्मरण गराएको छ।

विभागले सूचना जारी गर्दै एकपटकमा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थाले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको हो।

सूचनाअनुसार, कारोबारको आधारमा इजाजतपत्र दस्तुर पनि तोकिएको छ। ५ करोड रुपैयाँसम्मको कारोबार गर्नेले ५ लाख रुपैयाँ र ५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्नेछ।

यसअघि २०८३ असार मसान्तसम्म अनलाइन आवेदन दिए पनि इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले जनाएको छ। अनलाइन आवेदनसँगै आवश्यक कागजातको मुद्रित प्रति विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको आधारमा आपराधिक गतिविधिमा संलग्न नरहेको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ।

विभागले इजाजतपत्र सम्बन्धी थप जानकारीका लागि विभागमै सम्पर्क गर्न सम्बन्धित सबै फर्म, कम्पनी तथा संस्थालाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्