अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, कान्तिलोकपथ र अरनिको राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती र काठमाडौं उपत्यकाका विभिन्न सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका-३ पाण्डुरमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ भने काठमाडौंको नागार्जुन नगरपालिका-८ ठुलो खोलामा पहिरो जाँदा सितापाइला–धार्के सडकखण्ड पनि ठप्प बनेको छ।

भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलाम नगरपालिका-९ राजदुवालीमा पहिरो जाँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ। यस्तै, कान्तिलोकपथको हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलो र वडा नम्बर-२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्