प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश हुनुका साथै भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ। संसद् सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक वर्ष २०८१/८२ को आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्नेछिन्।

त्यसपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना र लालपूर्जा वितरण सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्नेछन्।

यसैबीच आज विभिन्न पाँच संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफाबार छलफललाई निरन्तरता दिनेछ भने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्नेछ। उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल हुनेछ। राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन, २०४२ सम्बन्धी विधेयकमाथि सैद्धान्तिक तथा दफाबार छलफल गर्नेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सरकारी आश्वासनका विषयमा पूर्वसभापति रामनारायण विडारीसँग छलफल गर्ने कार्यसूची रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्