अतिक्रमणको चपेटामा आदि कैलाश र ॐ पर्वत

खिमानन्द जोशी 

सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ । नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी शौका समुदायको बसोबास रहेको यो क्षेत्र सांस्कृतिक,धार्मिक,प्राकृतिक,व्यापारिक एवम् सामरिक हिसाब ले अति नै महत्वपूर्ण क्षेत्र हो।

पुराणहरुमा धर्मद्वारको रुपमा वर्णित शिवपार्वतीको क्रिडास्थल एवम् महर्षी व्यासको तपस्थलको रुपमा रहेको यस क्षेत्रमा रहेको आदि कैलाश एवम् ॐ पर्वतका बारेमा यस लेखमा चर्चा गरिएको छ ।

हिमालय क्षेत्रमा रहेका पन्च कैलाश मध्ये मुख्य कैलाश (कैलाश मानसरोवर ) तिब्बतमा, आदि कैलाश नेपालको दार्चुलामा ( अतिक्रमीत क्षेत्र),श्रीखण्ड कैलाश,किन्नर कैलाश र मणिमहेश कैलाश ईन्डियाको हिमान्चल प्रदेशमा पर्दछन् । प्रत्येक बर्ष पन्च कैलाश यात्राका लागि लाखौं तिर्थयात्रीहरु यी पवित्र स्थलहरुमा पुग्ने गर्दछन्।आदि कैलाशलाई बाबा कैलाश, शिव कैलाश, छोटा कैलाश एवम् जोलिङ्गकाङ्ग नामले पुकारिन्छ । भगवान शिवले देवी पार्वतीसङ्ग बिवाह गरेपछि यस क्षेत्रमा निवास गरेको र पछि परिवार वृद्धि भएपछि मुख्य कैलाश ( कैलाश मानसरोवर)मा बसोबास गर्न गएको धार्मिक मान्यता यस क्षेत्रमा प्रचलित छ ।आदि कैलाश अतिक्रमीत कुटी गाउँबाट १४ किलोमीटर उत्तर पुर्वमा पर्दछ। समुद्री सतहबाट ६३१० मीटर ऊचाई अवस्थित आदि कैलाशलाई कैलाश मानसरोवरकै प्रतिकृतिको रुपमा लिईन्छ।

यहाँ पनि कैलाश मानसरोवर जस्तै आदि कैलाशको अग्रभागमा पार्वती कुण्ड रहेको छ। जसलाई पार्वती सरोवर पनि भन्ने गरिन्छ । यस सरोवरमा आदि कैलाशको आकृती देखिन्छ। सरोवरको किनारमा शिवपार्वतीको मन्दिर रहेको छ । साधु सन्तहरुले यस क्षेत्रको तिर्थयात्रा प्राचीन समय देखि नै गर्दै आए पनि सर्वसाधारण भने सन् १९६२ मा ईन्डिया चीन युद्धपछि कैलाश मानसरोवर यात्रा बन्द भएपछी यस क्षेत्रमा जान थालेका हुन् ।

साधु सन्तले आदि कैलाशको महिमाबारे जानकारी दिने र आदि कैलाश यात्रा गर्न प्रेरित गरेका कारण ठूलो संख्यामा श्रद्धालु यस क्षेत्रमा पुगेको पाईन्छ। सन् १९९४ भन्दा पहिले के कतिले यस क्षेत्रको यात्रा भन्ने तथ्यांक पाईदैन।सन् १९९४ ईन्डियाले सरकारी स्तरबाटै कुमाउँ मण्डल विकास निगम मार्फत “आदि कैलाश यात्रा” सुरु गरेपछि विगत २५ वर्षमा जम्मा ३,९५३ जना श्रद्धालुहरुले आदि कैलास यात्रा गरेका थिए । प्रत्येक बर्ष जुन-सेप्टेम्बर महिना संचालन हुने आदि कैलाश यात्राका लागि कोभिड-१९ का कारण यस बर्ष भने पन्जीकरण गरिएको छैन। कुमाउँ मण्डल विकास निगमले दिल्ली –आदि कैलाश– दिल्ली ( १७ दिन) का लागि भा.रु.४०,५००/- (जि.एस् .टी.सहित) त्यस्तै काठगोदाम–आदि कैलाश – काठगोदाम (१५दिन) का लागि भा.रु.३५,५००/- (जि.एस् .टी. सहित) र धारचूला – आदि कैलाश –धारचूला (१२दिन) का लागि भा.रु .३०,५००/-(जि.एस्.टी. सहित) प्रति यात्री शुल्क लिने गरेको छ । पछिल्लो समय ईन्डियाले मानसरोवर जाने सड्क निर्माण गर्नुको साथै उक्त क्षेत्रमा होटेल एवम् होमस्टेहरुको निर्माण भैरहेका कारण आउँदा दिनमा तिर्थयात्रीहरुको संख्यामा उल्लेख वृद्धि हुने देखिन्छ ।

अतिक्रममित भुमिमा रहेको अर्को महत्त्वपूर्ण क्षेत्र हो ॐ पर्वत, लिपुलेक क्षेत्रमा पर्ने यो अद्भुत पर्वत नेपाल-चीन सिमा नजिकै रहेको छ । यसको उचाई ६,१९१ मीटर रहेको छ। ॐ पर्वत गुराँस हिमशृङ्खला अन्तर्गत पर्दछ। यस पर्वत रहेको ॐ आकृतिलाई पश्चिमतिर पर्ने गुन्जी गाउँवाट स्पष्ट रुपमा देख्न सकिन्छ । यो कैलाश पर्वत र आदि कैलाशका बिचमा पर्दछ। धार्मिक मान्यता अनुसार हिमालय क्षेत्रमा कुल ८ ठाउँमा प्राकृतिक रुपमा ॐ आकृति रहेको मानिए ता पनि हालसम्म यो पर्वत मात्रै पत्ता लागेको छ । यस पर्वतबाट ॐ को प्रतिध्वनी गुन्जिने गर्दछ । यो पर्वतले हिन्दु, बौद्ध एवम् जैन धर्मावलम्वीहरुका लागि विशेष धार्मिक महत्व राख्दछ। पछिल्लो समय लिपुलेकलाई नक्सामा देखाईसकेपछि ईन्डियाले ॐ पर्वतको आधा क्षेत्र समेत दाबी गरिरहेको छ। बर्सेनि कैलाश मानसरोवर यात्रामा जाने हजारौं तिर्थालुहरुले यस पर्वतको दर्शन गर्ने गर्दछ्न् ।यस पर्वत बाट कैलाश मानसरोवरको दुरी लगभग ६३ किलोमीटर रहेको छ । सन् १९५४ देखि नै ईन्डियन सुरक्षाकर्मीले यस क्षेत्रमा नेपालीहरुलाई प्रवेशमा कडाई गरेको पाईन्छ ।

सन् १९६२को ईन्डिया-चीन युद्धपछि ईन्डो तिब्बतयन बोर्डर पुलिस फोर्सले यस क्षेत्रमा व्यारेक बनाएर बसेपछि नेपालीहरुले प्रयोग गर्ने परम्परागत बाटो नै बन्द गरिदिएको छ । आफ्नै देशको सिमानाभित्र यति महत्त्वपूर्ण क्षेत्र भएर पनि सो क्षेत्रमा प्रवेश गर्न पराईको अनुमती लिनुपर्ने र अनुमती माग्दा पनि नपाईनु घोर अपमान हो ।

हालै नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरेर सह्रानिय कार्य गरेको छ। अब यस अति पवित्र नेपाली भुमिबाट ईन्डियन आर्मी सौहार्दपुर्ण ढङ्गबाट फिर्ता जानुपर्छ । कुटनितिक तवरबाटै यो समस्याको समधान हुनेछ भन्ने विश्वास छ । पवित्र आदि कैलाश एवम् ॐ पर्वत नेपालको थियो छ र रहिरहनेछ ।

( दार्चुलाका स्थायी वासिन्दा लेखक मौलिक जरोकिलो पार्टीका सुदुरपश्चिम अध्यक्ष हुन् ।)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्