मेरिनोको अन्तिम मिनेटको गोलमा बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं – स्पेनले बेल्जियमलाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा बिहीबार बिहान सम्पन्न क्वार्टरफाइनलमा मिकेल मेरिनोको अन्तिम मिनेटको गोल निर्णायक बनेपछि स्पेन अन्तिम चारमा पुगेको हो।

स्पेनले खेलको ३०औँ मिनेटमा फेबियन रुइजको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफ सकिनुअघि ४१औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटलेरले बराबरी गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्‍याए। दोस्रो हाफमा दुवै टोलीले लगातार आक्रमण गरे पनि खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए।

यस जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ। स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो। त्यसपछि सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको टोली सन् २०१८ र २०२२ मा अन्तिम-१६ बाटै बाहिरिएको थियो।अब स्पेनले फाइनल प्रवेशका लागि साविक उपविजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले यसअघि क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ।

विश्वकपका बाँकी दुई क्वार्टरफाइनल खेलमा नर्वेले इङ्ग्ल्यान्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्