नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाइ सकियो, आजै फैसला आउने तयारी

काठमाडौँ – बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा जारी सुनुवाइ सम्पन्न भएको छ। गत जेठ २७ गतेदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भइरहेको बहस शुक्रबार सकिएको हो। सुनुवाइ सकिएसँगै अदालतले आजै फैसला सुनाउने तयारी गरेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो मुलुक पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरिएको आरोपमा दायर भएको यो मुद्दा लामो समयदेखि सुनुवाइको प्रतीक्षामा थियो। अदालतले जेठ २७ गतेदेखि उक्त मुद्दालाई प्राथमिकतामा राख्दै निरन्तर सुनुवाइ गरेको थियो।

यस प्रकरणमा २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो।

अभियोगपत्रमा संगठित गिरोहले सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा प्रस्तुत गरेर विदेश पठाउने योजना बनाएको उल्लेख छ। मुद्दामा मुख्य बिचौलिया केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतलाई पनि प्रतिवादी बनाइएको छ।

अब अदालतको फैसलाले बहुचर्चित यस प्रकरणको कानुनी टुंगो लाग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्