रास्वपाको नयाँ विधान: सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पदमुक्त हुने

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापतिले दिएको नीतिगत निर्देशन पालना नगर्ने संसदीय दलका नेतालाई पदमुक्त गर्ने व्यवस्था आफ्नो नयाँ विधानमा समावेश गरेको छ।

असार १२ गते सम्पन्न पहिलो महाधिवेशनबाट पारित विधानको धारा ६८ अनुसार संसदीय दलका नेता निश्चित अवस्थाहरूमा स्वतः पदमुक्त हुने व्यवस्था गरिएको हो। ती व्यवस्थामध्ये पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरे संसदीय दलको नेता पदमुक्त हुने प्रावधान पनि समावेश गरिएको छ।

विधानले संसदीय दलभित्र लोकतान्त्रिक जवाफदेहिता र पदीय स्थिरतालाई सन्तुलनमा राख्ने उद्देश्यले यो व्यवस्था गरिएको जनाएको छ।

विधानअनुसार संसदीय दलको नेता छ वटा अवस्थामा पदमुक्त हुनेछन्। तीमध्ये लिखित राजीनामा वा मृत्यु, सांसद पद समाप्त हुनु, पार्टी त्याग वा निष्कासन, सरकारको नेतृत्व गरिरहेको अवस्थामा विश्वासको मत गुमाउनु, सभापतिको नीतिगत निर्देशन पालना नगर्नु तथा संसदीय दलभित्र अविश्वास वा प्रत्याह्वान प्रस्ताव पारित हुनु समावेश छन्।

पार्टी विधानको धारा ११ ले पार्टी सभापतिलाई राजनीतिक तथा वैचारिक नेतृत्वको जिम्मेवारी दिएको छ। सभापति संसदीय दलको नेता नरहेको अवस्थामा संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त र निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नीतिगत मार्गनिर्देशन दिने अधिकार सभापतिलाई रहने उल्लेख गरिएको छ।

विधानले यस्तो मार्गनिर्देशन पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सदस्यहरूको अनिवार्य कर्तव्य हुने स्पष्ट गरेको छ। यही व्यवस्थाका आधारमा सभापतिको निर्देशन अवज्ञा गर्ने संसदीय दलका नेता पदमुक्त हुने प्रावधान राखिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्