दैलेख । दैलेखको कर्णाली राजमार्गमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा कालिकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ। भीरमा अचेत अवस्थामा फेला परेका तिरुवालाई दैलेखस्थित दुल्लू अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
कर्णाली राजमार्ग अन्तर्गत दैलेख सडकखण्डबाट कर्णाली नदीमा खसेको यात्रुबाहक बस भने अझै फेला परेको छैन। सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको ६ सदस्यीय गोताखोर टोलीले नदीमा बसको खोजी कार्य जारी राखेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार वर्षापछि नदीमा पानीको सतह बढ्नुका साथै बाढीका कारण पानी धमिलो भएकाले बसको खोजीमा कठिनाइ भइरहेको छ। रातिको समय भएकाले खोज तथा उद्धार कार्य रोकिएको र आज बिहानदेखि पुनः तीव्र रूपमा खोजी अभियान सञ्चालन गरिएको उनले बताए।
प्रहरीका अनुसार बस सुर्खेत बसपार्कबाट छुट्दा पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि यात्रुको वास्तविक संख्या अझै यकिन हुन सकेको छैन। दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा रहेको छ। दुर्घटनापछि बेपत्ता बस र सम्भावित यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।



