गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत रावल नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार हिक्मत रावललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका रावललाई संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

रावल हालसम्म बीबीसी नेपाली सेवामा कार्यरत थिए। उनले लामो समयदेखि सुदूरपश्चिम क्षेत्रलाई केन्द्रमा राखेर राष्ट्रिय सञ्चारमाध्यममा सक्रिय पत्रकारितामार्फत रिपोर्टिङ गर्दै आएका छन्। खोजमूलक र जनसरोकारका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएका उनी नेपाली सञ्चार क्षेत्रमा अनुभवी पत्रकारका रूपमा परिचित छन्।

सरकारले सार्वजनिक सञ्चार संस्थानको नेतृत्वमा पत्रकारिता तथा सञ्चार क्षेत्रको अनुभव भएका व्यक्तिलाई जिम्मेवारी दिएको जनाएको छ। नवनियुक्त महाप्रबन्धक रावलले गोरखापत्र संस्थानको संस्थागत सुदृढीकरण, डिजिटल रूपान्तरण, सम्पादकीय गुणस्तर अभिवृद्धि तथा सार्वजनिक सञ्चार सेवाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आवेदन दिएका ३५ जनामध्येबाट १० जनाको सूची प्रकाशित गरेको थियो । रावल लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ। रावलको जन्म डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा भएको हो । उहाँ पछिल्लो समय कैलालीको धनगढीमा बसोवास गर्नुहुन्छ । उहाँ विगत चार वर्षदेखि बिबिसी नेपाली सेवामा कार्यरत हुनुहुन्छ । रावल ग्यालेक्सी फोरके, न्यूज २४ र एभिन्युज टेलिभिजनमा प्रदेश प्रमुखका रूपमा काम गर्नुभएको छ ।  पत्रकारिता क्षेत्रमा सक्रिय उहाँसँग स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा संवाददाता, क्षेत्रीय प्रमुख र सम्पादक भएर  २५ वर्षसम्म काम गरेको अनुभव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्