चितवन, असार ९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले उहाँलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो।
केसीले हाल केन्द्रीय समिति सदस्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको जानकारी दिँदै उम्मेदवारी दर्ताको समय राति १२ बजेसम्म रहने बताउनुभयो।
उहाँका अनुसार बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। महाधिवेशनमा करिब ४ हजार ५ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्ने भएकाले मतदान प्रक्रिया सम्पन्न हुन करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ।
मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतगणना सकाएर परिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक विकास, नयाँ नेतृत्व चयन तथा भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।





