पार्टीभित्र गुटउपगुट नबनाउन रास्वपा सभापति लामिछानेको निर्देशन

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट निर्माण नगर्न प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।

प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले गुटउपगुटले पार्टीलाई सही दिशामा नलैजाने बताउनुभयो। “हामीले पनि गुटउपगुट बनायौँ भने हामीबाट आउने परिणाम पुराना पार्टीको जस्तै हुन्छ। फरक परिणाम निकाल्न केही फरक गर्नैपर्छ,” उहाँले भन्नुभयो।

सभापति लामिछानेले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर निर्णय लिन आग्रह गर्दै जनताले विवेकपूर्ण मत दिएर रास्वपालाई स्थापित गरेको स्मरण गराउनुभयो। “५२ लाख जनताले विवेक प्रयोग गरेर हामीलाई जिताउनुभयो, त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो।

महाधिवेशनका लागि प्रतिनिधिहरूले तिरेको पाँच हजार रुपैयाँ ऐच्छिक रहेको उल्लेख गर्दै आवश्यक परे उक्त रकम फिर्ता लिन सकिने जानकारी पनि उहाँले दिनुभयो। आर्थिक रूपमा सक्षम प्रतिनिधिहरूले आवश्यक परे अन्य साथीहरूको सहयोग गर्न सक्ने सुझाव उहाँले दिनुभयो।

नेतृत्व चयन प्रक्रियाबारे बोल्दै लामिछानेले निर्वाचनमा जो विजयी भए पनि पार्टीको चुनाव चिह्न ‘घण्टी’ का वाहकहरू नै विजयी हुने बताउनुभयो। आफू कुनै उम्मेदवारको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै उहाँले प्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा निर्णय गर्न आग्रह गर्नुभयो।

उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने चर्चा निराधार रहेको उल्लेख गर्दै पुराना र नयाँ सबै सदस्यलाई आफ्नो योग्यता र क्षमताअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको बताउनुभयो।

“रास्वपा ‘ह्विप’ भन्दा पनि ‘विवेक’ ले चल्ने पार्टी हो,” भन्दै उहाँले कसलाई मतदान गर्ने भन्ने विषयमा पार्टीले कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पार्नुभयो।

पार्टीभित्र देखिने असन्तुष्टि र मतभेदलाई आन्तरिक छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यस्ता विषयलाई सार्वजनिक विवादको रूप नदिन आग्रह गर्नुभयो। स्वस्थ, स्वच्छ र विवादरहित ढङ्गले महाधिवेशन सम्पन्न गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो।

सभापति लामिछानेको उद्घाटन मन्तव्यसँगै बन्दसत्रका औपचारिक कार्यक्रम सुरु भएका छन्। रास्वपाले आजै बन्दसत्रका कार्यसूची सम्पन्न गरी निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्