चितवन, असार ९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण तथा विवरण प्रमाणीकरणको काम समयमै सम्पन्न हुन नसकेपछि मङ्गलबारसम्मका लागि स्थगित गरिएको छ।
भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनीष झाले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु र परिचयपत्र छपाइ कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र सार्नुपरेको जानकारी दिनुभयो।
उहाँका अनुसार महाधिवेशनको वैधानिकता र विश्वसनीयता प्रतिनिधिको सही अभिलेख तथा सहभागितासँग जोडिएको विषय भएकाले प्रतिनिधि व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन विशेष सावधानी अपनाइएको छ। देशभरबाट आएका प्रतिनिधिहरूको विवरण रुजु गर्ने कार्य जारी रहेकाले प्रक्रिया पूरा नभएसम्म बन्दसत्र सुरु गर्न उपयुक्त नहुने निष्कर्षमा पार्टी पुगेको उहाँले बताउनुभयो।
प्रवक्ता झाले विशेषगरी मधेश प्रदेशबाट आउने प्रतिनिधिको सङ्ख्या यकिन गर्न समस्या रहेको उल्लेख गर्दै आधिकारिक विवरण प्राप्त भएपछि मात्र प्रतिनिधिको अन्तिम सूची टुङ्गो लगाइने जानकारी दिनुभयो। उहाँले प्रतिनिधि व्यवस्थापनका कारण महाधिवेशनको अवधि पनि एक दिन थपिने बताउनुभयो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रतिनिधि परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सोमबार साँझदेखि तयार भएका परिचयपत्र वितरण सुरु गरिएको छ भने बाँकी परिचयपत्र मङ्गलबार बिहान वितरण गरिनेछ।
निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै केसीले प्रतिनिधि परिचयपत्र वितरण सम्पन्न भएपछि बन्दसत्र सुरु हुने र त्यसपछि विधानअनुसार नेतृत्व चयनलगायतका प्रक्रिया अघि बढाइने बताउनुभयो।
रास्वपाले मङ्गलबार दिउँसो १२ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी गरेको जनाएको छ। बन्दसत्रमा विभिन्न प्रतिवेदन, प्रस्ताव र विधानमाथि छलफल हुनुका साथै नयाँ नेतृत्व चयन प्रक्रिया पनि अघि बढाइनेछ। आवश्यक परे निर्वाचनमार्फत नेतृत्व चयन गरिने पार्टीको तयारी छ।
यसबीच बन्दसत्र स्थगित हुँदा प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूलाई परेको असुविधाप्रति पार्टीले क्षमायाचना गर्दै धैर्य र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ। रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संस्थागत सुदृढीकरण, नेतृत्व चयन र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।





