काठमाडौं, असार ८ — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई भोलि काठमाडौं ल्याइने भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको समन्वयमा सुर्खेतमा पक्राउ परेका पौडेललाई सोमबार नेपालगञ्ज पुर्याइएको छ।
उनीलाई नेपालगञ्जबाट हवाईमार्ग हुँदै काठमाडौं ल्याउने तयारी गरिए पनि राति अबेर भएको र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यात्रा स्थगित गरिएको प्रहरी स्रोतले जनाएको छ। अब उनलाई मंगलबार बिहान विमानमार्फत काठमाडौं ल्याइने तयारी गरिएको छ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेलको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन्। सोमबार जारी प्रेस वक्तव्यमा ओलीले पौडेललाई गैरकानुनी तथा ‘अपहरण शैलीमा’ पक्राउ गरिएको आरोप लगाउँदै घटनाको घोर निन्दा र भर्त्सना गरेका छन्।
सामान्य कानुनी प्रक्रिया अपनाउन सकिने अवस्था हुँदाहुँदै बदनियतपूर्वक गिरफ्तारी गरिएको दाबी गर्दै ओलीले सार्वजनिक पद धारण गरिसकेका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वमाथि सस्तो राजनीतिक खपतका लागि ‘स्टन्ट’ गरिएको आरोप लगाए।
ओलीले यसलाई सत्ताको उन्मादमा गरिएको अधिनायकवादी कदमको संज्ञा दिँदै एमालेले यसको डटेर सामना गर्ने चेतावनी दिएका छन्। साथै, सरकारलाई यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन्।
यता, पक्राउ प्रकरणबारे सम्बन्धित सरकारी निकायबाट औपचारिक विस्तृत प्रतिक्रिया आउन बाँकी छ।





