रास्वपाको बन्दसत्र मङ्गलबार बिहानसम्मका लागि स्थगित

 

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत हुने बन्दसत्र मङ्गलबार बिहान ७ बजेपछि सुरु हुने गरी स्थगित गरिएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधिहरूविरुद्ध परेका उजुरीमाथि छानबिन गर्न थप समय आवश्यक परेकाले बन्दसत्र सारिएको हो। बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुनेछ।

कार्यसूचीअनुसार बन्दसत्रको सुरुवातमा अनुशासन आयोगका रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफल गरिने कार्यक्रम छ।

त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछिन् र त्यसमाथि पनि छलफल हुनेछ।

आर्थिक प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेस गर्नेछन्। सो प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि सहमहामन्त्रीहरूले पार्टी विधानमाथि छलफल गराई अनुमोदनको प्रक्रिया अघि बढाउनेछन्।

विधान अनुमोदन भएपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उक्त प्रतिवेदनमाथि छलफल र अनुमोदन गरिनेछ।

महाधिवेशनको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने तथा आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको रास्वपाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्