हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा सरकार

हेटौँडा – लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले सक्रियता बढाएको छ। यससँगै सम्बन्धित सरकारी निकायहरूले उद्योगको स्थलगत अनुगमन तथा अध्ययन कार्य अघि बढाएका छन्।

हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५ सालदेखि सञ्चालनमा आएको उद्योग २०५७ सालदेखि बन्द रहेको छ। त्यसयता उद्योग पुनः सञ्चालनका लागि विभिन्न प्रयास भए पनि सफल हुन सकेका थिएनन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार यस वर्ष सरकारले उद्योग सञ्चालनप्रति विशेष चासो देखाएपछि स्थलगत अनुगमन र आवश्यक तयारी तीव्र बनाइएको छ। उहाँले उद्योगमा रहेका अधिकांश उपकरण सामान्य मर्मतपछि पुनः प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभयो।

उद्योग पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको बताइएको छ। यसैक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्नुभएको थियो। साथै हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले पनि उद्योग परिसरको अवलोकन गरी आवश्यक जानकारी संकलन गरेको छ।

मन्त्री यादवले प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा हेटौँडा कपडा उद्योग चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभएको थियो।

उद्योग बन्द भएपछि उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी बलको नम्बर १४ गण बस्दै आएको छ। सरकारले उद्योग पुनः सञ्चालनको योजना अघि बढाएसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना र औद्योगिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्