काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा चाँडो प्रकाशन गर्दा उत्तरपुस्तिका परीक्षण तथा नतिजा तयारी प्रक्रियामा कुनै कमजोरी नभएको स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएका आवश्यक प्रक्रिया यथावत् राखिएको र परीक्षण कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइएको बताउनुभयो।
उहाँका अनुसार अघिल्ला वर्षहरूमा उत्तरपुस्तिका परीक्षणपछि समपरीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनुपर्ने व्यवस्था थियो। यस वर्ष भने सम्बन्धित स्थानमै समपरीक्षण गर्ने व्यवस्था मिलाइएकाले समय बचत भएको हो। उत्तरपुस्तिका अनावश्यक रूपमा रोकिराख्ने प्रवृत्ति अन्त्य गरी समयमै परीक्षण सुरु गरिएको भन्दै यसलाई हतारमा गरिएको मूल्याङ्कन भन्न नमिल्ने मन्त्री पोखरेलको भनाइ छ। परीक्षण कार्यलाई छिटो र प्रभावकारी बनाउन विगतको तुलनामा बढी जनशक्ति परिचालन गरिएको तथा अनावश्यक प्रशासनिक र प्रक्रियागत ढिलासुस्ती हटाइएको उहाँले उल्लेख गर्नुभयो।
कक्षा १२ को परीक्षा दस्तुर वृद्धि सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शुल्क वृद्धि वर्तमान सरकारको निर्णय नभई गत वर्षको पूरक परीक्षादेखि नै लागू भइसकेको व्यवस्था भएको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले यस वर्षको नतिजा अस्वाभाविक रूपमा छिटो आएको नभई विगतमा हुने गरेको ढिलाइ सुधारिएको मात्र भएको बताउनुभयो। उहाँले गएको वर्षको तुलनामा यस वर्ष कक्षा १२ को उत्तीर्ण प्रतिशत झण्डै आठ प्रतिशतले वृद्धि भएको तथ्य पनि स्मरण गराउनुभयो। गत वैशाख १४ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बुधबार सार्वजनिक गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।






