आज विश्व वातावरण दिवस, देशभर विविध कार्यक्रम आयोजना

काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम गरी मनाइँदै छ। यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम तय गरिएको छ। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष समारोह आयोजना गरेको छ। कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

वातावरण विभागका अनुसार मुख्य समारोहमा विभिन्न सरकारी निकायका प्रतिनिधि, विकास साझेदार संस्था, वातावरणविद्, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाहरूको सहभागिता रहनेछ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका बढ्दो चुनौतीको सामना तथा प्रकृतिमैत्री विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको बताउनुभयो।

उहाँका अनुसार वातावरणीय संरक्षणप्रति नागरिकको सचेतना अभिवृद्धि गर्न तथा दिगो विकासका अवधारणालाई व्यवहारमा उतार्न दिवसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विश्व वातावरण दिवसको अवसरमा देशभर वृक्षारोपण, सरसफाइ अभियान, सचेतनामूलक र्‍याली, अन्तरक्रिया, गोष्ठी तथा वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने वातावरण विभागले जनाएको छ। हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरणीय चुनौतीप्रति विश्व समुदायको ध्यानाकर्षण गर्दै प्रकृति संरक्षण र दिगो विकासका लागि सामूहिक प्रयासको सन्देश दिने गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्