काठमाडौं – प्रतिनिधिसभाको बैठकमा आइतबार फेरि तनावपूर्ण अवस्था सिर्जना भएको छ। विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गर्दै सभामुखको आसनसम्म पुगेर विरोध जनाएका छन्। यसअघि आजै बसेको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित गरिएको थियो। तर पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले संसद्को वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन्।
विरोधका क्रममा केही सांसदहरू सभामुखको आसननजिक पुगेर प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले सभामुखप्रति लक्षित नाराबाजीसमेत गरेका छन्। बैठक सञ्चालन गर्ने प्रयास भइरहे पनि विपक्षीहरूको निरन्तर विरोधका कारण संसद् बैठक प्रभावित बनेको छ। विपक्षी दलहरूले आफ्ना मागहरूको सम्बोधन नभएसम्म विरोध जारी राख्ने संकेत गरेका छन्।
संसद् भवनभित्रको पछिल्लो अवस्थाका कारण प्रतिनिधिसभाको कार्यसूची प्रभावित हुने देखिएको छ। सभामुखले दलहरूबीच सहमति खोज्ने प्रयास गरिरहनुभएको छ।






