काठमाडौं – आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाह लगायत उच्चपदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गर्दै समुन्नत भविष्य निर्माणका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रलाई नागरिक अधिकार, राष्ट्रिय एकता र समृद्धिको आधारका रूपमा व्याख्या गर्नुभयो ।
यस वर्ष प्रधानमन्त्री शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने निर्णय गरेपछि सरकारले राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गरेको थियो । अघिल्ला वर्षहरूमा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो । जननिर्वाचित पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते २४० वर्षे निरंकुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको छ । गणतन्त्र स्थापनासँगै नेपाली नागरिकले राजनीतिक अधिकार, समावेशी शासन व्यवस्था तथा लोकतान्त्रिक सहभागिताको सुनिश्चितता पाएका छन् । लोकतान्त्रिक गणतन्त्रलाई केवल शासन व्यवस्था मात्र नभई नागरिकको जीवनशैली र उदार लोकतान्त्रिक मूल्यको प्रतीकका रूपमा समेत हेरिने गरिएको छ ।
नागरिक अगुवाहरूले लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउन राजनीतिक स्थिरता, सुशासन, आर्थिक विकास र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् ।







