काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं माथिको अनुसन्धान दोस्रो पटक थप गरिएको म्यादभित्रै सक्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार प्रसाईंविरुद्ध थप ४ दिनको म्याद लिएको थियो । पर्सा प्रहरीका अनुसार दोस्रो पटक थप गरिएको उक्त म्याद सोमबार सकिनेछ । सर्वोच्च अदालतले उक्त अवधिभित्र अनुसन्धान पूरा गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न आदेश दिएको छ । यदि मुद्दा नचल्ने भए कानुनबमोजिम थुनामुक्त गर्न पनि अदालतले निर्देशन दिएको छ ।
प्रसाईंलाई प्रहरीले पर्साबाट पक्राउ गरेको थियो । हाल उनी पर्सा प्रहरीको हिरासतमा रहेका छन् ।






