घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटियो । अमेरिकाका सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले समान २–२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुर मैदानमा बनाएको अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले सन् २०२३ मा ओमानविरुद्ध ३१० रन बनाएको थियो ।
नेपालका ईशान पाण्डेले ८४ रनको उत्कृष्ट पारी खेले । दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६ तथा आसिफ शेखले ४३ रन जोडे । अमेरिकाका शुभम् रन्जनेले ३ विकेट लिए । यही शृङ्खलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ईशान पाण्डेको यो लगातार दोस्रो अर्धशतक हो ।
लिग–टुको घरेलु शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ४ खेलमध्ये ३ खेल जित्यो । नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको थियो । त्यसपछि अमेरिकालाई ९ विकेट, स्कटल्यान्डलाई ५ विकेट र पुनः अमेरिकालाई १२२ रनले हराउँदै नेपालले शानदार अन्त्य गरेको हो ।
लिग–टु अंक तालिकामा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड पनि ३८ अंकसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।






