काठमाडौं- नेपाली कांग्रेसको निर्वाचन ब्युरोमा १७ जना सदस्य मनोनित भएका छन् । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन भएको प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित ब्युरोमा सदस्य मनोनित गर्नुभएको हो ।
ब्युरोको सदस्यमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, डा. भूमिराज चापागाईँ, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज विनोद पौडेल, जगन्नाथ लामिछाने र मिलनराज बर्तौला रहनुभएको छ । उपसभापति भुसालको नेतृत्वमा गठित यस विशेष ब्युरोको मुख्य उद्देश्य पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्नुका साथै आगामी निर्वाचनलाई तथ्याङ्क आधारित र वैज्ञानिक बनाउनु रहेको जनाइएको छ ।
ब्युरोलाई देशभरका ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा तथा सातवटै प्रदेशका लागि विस्तृत निर्वाचन योजना तयार गर्ने जिम्मेवारी दिइएको छ । कार्यवाहक मुख्य सचिव दुलालका अनुसार मतदाताको मनोविज्ञान तथा स्थानीय तहको वास्तविक अवस्थाको विश्लेषण गरी उम्मेदवार छनोट प्रक्रियालाई तथ्यपरक र वैज्ञानिक बनाउने काम पनि ब्युरोले गर्नेछ । साथै आगामी निर्वाचनका लागि प्रभावकारी चुनावी रणनीति निर्माण गर्दै पार्टीको समग्र अभियानलाई आधुनिक राजनीतिक अभियानको स्वरूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।







