इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । कोलकातास्थित इडेन गार्डेन्स मैदानमा भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । मुम्बईका ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा टोली मध्यम स्कोरमा सीमित भएको थियो । यो जितसँगै कोलकाता १३ खेलबाट १३ अङ्क जोड्दै अङ्क तालिकाको छैटौँ स्थानमा पुगेको छ । मुम्बई भने १३ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा रहेको छ ।
आईपीएलअन्तर्गत आज हुने खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।







