इरान-अमेरिका वार्ता हुने संकेतपछि कच्चा तेलको भाउमा भारी गिरावट

इरान र अमेरिकाबीच वार्ता हुने खबर सार्वजनिक भएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य ११ प्रतिशतले घटेको छ । मंगलबार उच्चतम विन्दुमा १०९ दशमलव ८७ डलर प्रतिब्यारेल पुगेको ब्रेन्ट क्रुड बुधबार घटेर ९७ दशमलव ४८ डलर प्रतिब्यारेलमा कारोबार भएको हो । यस्तै, यूएस वेस्ट टेक्सास इन्टरमिडियट क्रुडको मूल्य पनि ११ दशमलव ३ प्रतिशतले घटेर ९० दशमलव ७४ डलर प्रतिब्यारेलमा झरेको छ ।

बेलायती कम्पनी ट्रेड नेसन्सका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिसनका अनुसार हर्मुज जलमार्ग खुल्ने आशा बढेसँगै बजारमा सकारात्मक संकेत देखिएको हो । उनले जहाज आवागमन र व्यापार सामान्य अवस्थामा फर्किन भने अझै केही महिना लाग्न सक्ने बताएका छन् ।

हर्मुज जलघाँटीमा देखिएको तनावका कारण विश्व बजारमा कच्चा तेल, प्राकृतिक ग्यास, रासायनिक मल, पेट्रोकेमिकल्स तथा इलेक्ट्रोनिक्स सामग्रीको आपूर्तिमा समस्या देखिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले एसियाली बजारमा रासायनिक मलको अभावले खाद्य सङ्कट र भोकमरीको जोखिम बढ्न सक्ने चेतावनी समेत दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री मार्को रुबियो तथा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका पछिल्ला अभिव्यक्तिले दुवै देश युद्ध अन्त्यतर्फ अघि बढिरहेको संकेत गरेका छन् । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकाले युद्ध अन्त्यका लागि १४ बुँदे प्रस्ताव तयार पारेको छ । उक्त प्रस्तावबारे अमेरिकी दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जरेद कुस्नरले इरानी अधिकारीहरूसँग प्रत्यक्ष तथा मध्यस्थकर्तामार्फत छलफल गरिसकेका छन् ।

सम्झौतामा इरानले आणविक संवर्द्धन कार्यक्रम केही समयका लागि स्थगित गर्ने तथा अमेरिकाले इरानको रोक्का सम्पत्ति खुला गरिदिने विषय समावेश हुन सक्ने जनाइएको छ । त्यस्तै हर्मुज जलमार्गलाई चरणबद्ध रूपमा खुला गर्दै ३० दिनभित्र पूर्ण सञ्चालनमा ल्याउने प्रस्ताव पनि गरिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा इरानसँगको लडाइँ अन्त्यतर्फ उन्मुख रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत इरानले अमेरिकी प्रस्ताव स्वीकार गरे युद्ध अन्त्य हुन सक्ने उल्लेख गरेका छन् । तर प्रस्ताव अस्वीकार भए पुनः कडा सैन्य कारबाही हुन सक्ने चेतावनी पनि उनले दिएका छन् ।

यसैबीच इरानले पनि सकारात्मक संकेत दिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी धम्की र आक्रमणको भाषा बन्द भएपछि नयाँ मापदण्डसहित हर्मुज जलमार्ग खुला गरिने जनाएको छ ।

विश्वको झण्डै २० प्रतिशत कच्चा तेल तथा ग्यास आपूर्ति हुने हर्मुज जलमार्गमा दुई महिनादेखिको अवरोधका कारण साउदी अरेबिया, यूएई, कतारलगायत देशहरूको तेल व्यापार प्रभावित भएको छ भने विश्वव्यापी रूपमा ऊर्जा तथा मलको सङ्कट चुलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्