काठमाडौं – सरकारले सरकारी कर्मचारीसँग सम्बन्धित १२ वटा ट्रेड युनियन सङ्गठनहरूको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सूचना जारी गर्दै राष्ट्रियस्तरका निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरिएको जनाएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको विभागले हालै जारी गरिएको नयाँ अध्यादेशका आधारमा यस्तो निर्णय गरेको जनाएको छ। सूचनाअनुसार ८ वटा निजामती कर्मचारी र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियनहरू खारेज गरिएका छन्।
खारेज गरिएका निजामतीतर्फका प्रमुख सङ्गठनहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, एकीकृत सरकारी कर्मचारी सङ्गठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन रहेका छन्।
त्यस्तै स्वास्थ्य क्षेत्रका नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन पनि खारेजीमा परेका छन्।
सरकारको यो निर्णयसँगै कर्मचारी ट्रेड युनियन संरचनामा ठूलो परिवर्तन आउने देखिएको छ।






