काठमाडौं – आज वैशाख शुक्ल पूर्णिमाका दिन २५७०औँ बुद्ध जयन्ती नेपालसहित विश्वभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हरेक वर्ष यही दिन गौतम बुद्ध को जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको विश्वासका आधारमा विशेष रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ। विश्व शान्ति, अहिंसा र मैत्रीको सन्देश दिनु भएका बुद्धप्रति सम्मान प्रकट गर्दै आज लुम्बिनी, स्वयम्भू र बौद्धलगायत विभिन्न धार्मिक स्थलहरूमा पूजाअर्चना, ध्यान तथा प्रवचन कार्यक्रम आयोजना गरिएको छ।
इतिहासअनुसार इसापूर्व ५६३ मा लुम्बिनी मा राजा शुद्धोधन र माता मायादेवी को कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो। पछि उहाँले दरबारको विलासितापूर्ण जीवन त्यागेर सत्यको खोजीमा ध्यान र तपस्यामा लाग्नुभयो र अन्ततः ज्ञान प्राप्त गरी बुद्ध बन्नुभयो।
‘अहिंसा नै शान्ति र मैत्रीको आधार हो’ भन्ने उहाँका सन्देशहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। बुद्ध जयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ भने बौद्ध धर्मावलम्बी तथा श्रद्धालुहरूले शान्ति, सद्भाव र सहअस्तित्वको कामना गर्दै विविध कार्यक्रममार्फत दिवस मनाइरहेका छन्।






