काठमाडौं – गृह मन्त्रालय ले रोल्पाको थवाङ गाउँपालिका-१ सल्यापमा भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले सचिवस्तरको निर्णयबाट यादव ढकाल को संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो। छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पा का प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पा का सशस्त्र प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रशासन कार्यालय रोल्पा का प्रशासकीय अधिकृत सदस्य रहेका छन्। मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
समितिलाई दुर्घटनाको वास्तविक कारण, सम्भावित लापरबाही तथा कमजोरी पत्ता लगाई भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुझाव दिन कार्यादेश दिइएको छ।
रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप बिहीबार अपराह्न करिब ३ बजे कच्ची सडकबाट झण्डै ८ सय मिटर तल खस्दा २० जनाको ज्यान गएको थियो। उक्त घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ।






