थापाथलीपछि गैरिगाउँमा बस्ती हटाउने अभियान

तस्बिर : किरणराज विष्ट / रासस

काठमाडौँ । सरकारले काठमाडौँका नदी किनारामा रहेका सुकुम्बासी बस्ती तथा अव्यवस्थित घरटहरा हटाउने क्रममा थापाथलीस्थित बस्ती खाली गराएको छ । थापाथली क्षेत्रका टहरा हटाइसकेपछि अहिले गैरिगाउँ क्षेत्रमा अनधिकृत संरचना हटाउने काम सुरु गरिएको काठमाडौँ महानगरीय प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।

हटाइएका बासिन्दामध्ये झन्डै २० जनाले अस्थायी आवासमा बस्न इच्छा देखाएका छन् । घरवारविहीन भएको दाबी गर्ने १३ जनालाई सुन्दरीघाट राधास्वामी सत्सङ्गमा लगिएको महानगरीय प्रहरीले जनाएको छ ।

सरकारले थापाथली, गैरिगाउँ र मनोहरा क्षेत्रका अनधिकृत बस्ती दुई दिनभित्र हटाउने योजना अघि बढाएको छ । यद्यपि त्यहाँ बसोबास गर्ने घरधुरीको यकिन तथ्याङ्क अझै सार्वजनिक भएको छैन । वास्तविक र नक्कली सुकुम्बासी छुट्याएर नक्कलीको नाम सार्वजनिक गरिने सरकारको भनाइ छ ।

बस्ती हटाउने अभियानका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको छ । हटाइएका परिवारहरूको लगत सङ्कलन गर्दै अस्थायी बसोबासमा व्यवस्थापन गर्ने काम पनि सँगसँगै भइरहेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले केही परिवारलाई सामान सार्न सुरक्षाकर्मीले सहयोग गरिरहेको बताउनुभयो । मनोहरा क्षेत्रका बासिन्दाले भने दिनभरमै आफैँ बस्ती खाली गर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मानवीय आधारमा तत्कालका लागि पाँच स्थानमा पुनर्स्थापनाको व्यवस्था मिलाइएको जनाएको छ । यसअन्तर्गत नागार्जुनका व्यवस्थित आवास, कीर्तिपुरस्थित सत्सङ्ग भवन, बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र तथा खरिपाटी र चाँदबागका सरकारी भवन र खाली जग्गामा व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्