काठमाडौं – वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले अब घरबाटै अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले सेवा पूर्ण रूपमा अनलाइन र फेसलेस बनाएको हो ।
यसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालय सँग प्रणाली अन्तरआवद्धता गरिएको छ । अब विद्यार्थीले आवेदन दिँदा नागरिकता, माध्यमिक शिक्षा परीक्षा बोर्डको प्रमाणपत्र र विश्वविद्यालयको विवरण स्वतः प्रणालीबाट रुजु हुने भएकाले कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।
राजस्व भुक्तानीसमेत अनलाइनबाटै गर्न सकिनेछ भने स्वीकृत एनओसी विद्यार्थीले आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् । सर्टिफिकेटमा क्यूआर कोड राखिएकाले यसको प्रामाणिकता सजिलै जाँच गर्न सकिने व्यवस्था गरिएको छ ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले अब शिक्षा मन्त्रालयको अनलाइन पोर्टलमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन् ।






