काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गगन थापाको नेतृत्वमा रहेको कार्यसमितिको पक्षमा फैसला गरेको छ ।
शुक्रबार न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई वैधानिकता दिने निर्णय सुनाएको हो ।
विशेष महाधिवेशनपछि निर्वाचन आयोगले थापा नेतृत्वलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा रिट लिएर पुगेका थिए ।
रिटमा विशेष महाधिवेशन पार्टी विधान र प्रचलित कानुन विपरीत रहेको दाबी गरिएको थियो । साथै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल बाँकी हुँदाहुँदै नेतृत्व परिवर्तन गर्नु पार्टीको धारा १७, २७ र ४३ विपरीत भएको जिकिर गरिएको थियो ।
देउवा पक्षले निर्वाचन आयोगको निर्णय बदर गर्न र थापा नेतृत्वको समितिलाई काम गर्न नदिन अन्तरिम आदेश माग गरे पनि अदालतले यसअघि नै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
यस फैसलासँगै गगन थापाको नेतृत्वमा रहेको कार्यसमितिले वैधानिक मान्यता पाएको छ र पार्टीभित्रको नेतृत्व विवाद टुंगिएको छ ।







