नयाँ वर्षलाई राष्ट्रिय लक्ष्य निर्धारण र सङ्कल्प गर्ने अवसरका रूपमा लिन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई राष्ट्रिय लक्ष्य निर्धारण र सङ्कल्प गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभएको छ।

नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लक्ष्य प्राप्ति सहज नभई त्यसका लागि दृढ सङ्कल्प, साधना र अनुशासन आवश्यक पर्ने बताउनुभयो। निर्धारित लक्ष्य हासिल गर्न विधि, विधान र सुसंस्कृत आचरणको महत्त्वमा उहाँले विशेष जोड दिनुभयो।

राष्ट्रपति पौडेलले नेपालमा प्रचलित विभिन्न संवतहरू देशको इतिहास, सभ्यता र सामाजिक जीवनका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यिनले गौरवमय विगतको स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गर्ने बताउनुभयो।

उहाँले नववर्षलाई विगतको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ लक्ष्य तय गर्ने अवसरका रूपमा लिनुपर्ने परम्परा रहेको उल्लेख गर्नुभयो। साथै, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन भई मुलुकले राजनीतिक निकास पाएको पनि उहाँले बताउनुभयो।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति निष्ठावान रहँदै सुशासन, समावेशीकरण, सामाजिक न्याय र राष्ट्रिय एकताको सुदृढीकरणमा सबैले प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो। नयाँ वर्षले नेपालीहरूबीच विश्वास, सहिष्णुता र सहयोगको भावना अझ मजबुत बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्