काठमाडौं । पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ।
यस घटनापछि अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको त्रिकोणात्मक टी–२० सिरिजमा भाग नलिने निर्णय गरेको छ।
एसीबीले मृतक खेलाडी कबीर, सिबगतुल्लाह र हारुनको तस्वीर सार्वजनिक गर्दै लेखेको छ, “शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई निशाना बनाइयो।”
बोर्डका अनुसार, उक्त आक्रमणमा अन्य दुई जना सर्वसाधारण नागरिकको समेत मृत्यु भएको हो।
एसीबीले भनेको छ, “हाम्रा खेलाडीहरूको सम्मानका लागि र यस दुःखद घटनाको विरोधस्वरूप, अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानसँग नोभेम्बर महिनाको अन्त्यमा खेलिन तय भएको त्रिकोणात्मक टी–२० सिरिजबाट पछि हट्ने निर्णय गरेको छ।”
यस घटनाबारे पाकिस्तान क्रिकेट बोर्डले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
उक्त टी–२० सिरिज पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का बीच नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिण्डीमा आयोजना हुने तय गरिएको थियो।







