विदेशमा अलपत्र परेका नागरिकहरुलाई फर्काउन सरकार तयार, सातै प्रदेशमा फोकल पर्सन तोकिए, कार्यविधि बन्दै

काठमाडौं – सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महामारीका कारण अलपत्र परेकाहरूलाई स्वदेश फर्काउने भएको छ ।

मंगलबार बिहान बसेको उच्चस्तरीय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरूको व्यवस्थापनका विधिका बारेमा छलफल भएको हो । कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पार्नेछ ।

विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाउने निर्णय गरेको छ ।

सरकारले विदेशबाट फर्किनेहरूको व्यववस्थापन गर्न सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकेको छ । उनीहरूले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन् । भारत बाहेक नै करिब ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ ।

संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा उद्योगमन्त्री लेखराज भट्टलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै कर्णालीमा वनमन्त्री शक्ति बस्नेत, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, वागमतिमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, र प्रदेश नं. १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङले संयोजन गर्नेछन् ।

कार्य्विधि बनाएर क्याबिनेटमा पेस गरिने

सबै पक्षका सुझावहरु लिएर विदेशबाट फर्काउने र त्यसपछिको व्यवस्थापन गर्ने सम्बन्धमा कार्य्विधि बनाएर मन्त्रिपरिषद् बैठकमा पेश गरिने महिला बालिबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताए ।

भारतबाट आउनेका कारण कोरोना संक्रमण तीब्र भइरहेका बेला थप मान्छेलाई कसरी भित्र्याउने र कहाँ राख्ने भन्नेबारेमा पनि कार्यविधि बनाइने भएको छ । त्यस्तै खाडीलगायत तेस्रो मुलुकबाट नेपालीलाई फर्काउँदा सम्बन्धित देशमा कोरोना संक्रमित नभएको कागजात पेश गर्नुपर्नेछ । संक्रमित व्यक्तिलाई सम्बन्धित देशले नै पठाउन मिल्दैन ।

अहिले आउन चाहने सबैलाई ल्याउन सम्भव नभएको प्रधानमन्त्रीले संसदमै बताइसकेका छन् । सरकारले सम्बन्धित देशका दूतावास र एजेन्सीहरूमार्फत लकडाउनका कारण रोजगारी गुमाएर अलपत्र परेका, अशक्त अवस्थामा पुगेका तथा अन्य समस्यामा परेकालाई पहिलो चरणमा उद्धार गर्ने भएको छ ।

उद्धार कुन विधिबाट गर्ने भन्ने निर्णय भइसकेको छैन । नेपाल एयरलाइन्सलगायत अन्य नेपालका बिमान कम्पनीले उद्धार गरेर ल्याउने एउटा विकल्प छ । अर्को विकल्प कतिपय देशले नेपालले चाहेको खण्डमा नेपाली नागरिकलाई आफैँले विमानबाट पठाउने अनौपचारिक प्रस्तावसमेत पठाएका छन् । यसमा पनि छलफल भइरहेको एक मन्त्रीले बताए ।

स्वदेश फिर्तीसम्बन्धी कार्ययोजना र कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएपछि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काइने गुरुङले बताए । स्वदेश ल्याउने सुरक्षाका विधि, ल्याइसकेपछि क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने व्यवस्था र त्यसपछि सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर घर पठाउनेलगायतका विषयमा कार्यविधि बन्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्