काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ साललाई नेपाली क्रान्तिको अर्को मोडको सुरुवातको रूपमा चित्रण गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले परिवर्तनको अर्को अध्याय लेख्न गीत, संगीत र सांस्कृतिक चेतनाले निर्णायक भूमिका खेल्ने दाबी गरे।
“०८४ हाम्रो लागि खाली पात्रोको पाना होइन,” प्रचण्डले भने, “यो वर्ष क्रान्तिको नयाँ चरणमा हाम्रा पाइला टेक्ने वर्ष हुनेछ।”
उनले जनयुद्धको समय सम्झँदै भने, “त्यो बेला दर्शनभन्दा अघि गीत गुञ्जिन्थ्यो, भाषणभन्दा पहिला नृत्य हुन्थ्यो। परिवर्तनको चेतना जनताको मुटुमा संगीतले बोकेको थियो। अहिले पनि त्यही बाटो प्रभावकारी हुनेछ।” प्रचण्डले यो पटकको राजनीतिक यात्रा केवल नाराको भरमा नजाने स्पष्ट पारे। “यो यात्रा भावना र संस्कृतिको उत्सर्जनबाट चल्नेछ,” उनले भने, “गीतले मन छुनेछ, र मनले मत दिनेछ।”
कार्यक्रममा उनले पर्साबाट सुरु भएको पार्टीको ‘विजय यात्रा’ अब देशव्यापी बनाउने अठोट समेत व्यक्त गरे। उनका अनुसार आगामी चुनावी रणनीतिमा पार्टी जनभावनालाई सांस्कृतिक माध्यमबाट अभिव्यक्त गर्दै अगाडि बढ्ने तयारीमा छ। उनले सहभागी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अन्त्यमा भने, “हामी हेरिरहेका छैनौं, तयार भइरहेका छौं – नयाँ युगका लागि, नयाँ क्रान्तिका लागि।”