काठमाण्डौ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि देशका सबै प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले रातिको लागि पनि सतर्कता अपनाउन सुझाव दिएको छ। रातिमा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी र लुम्बिनीका केही भागमा राति पनि ठूलो वर्षा हुनसक्ने उल्लेख छ। हाल देशका विभिन्न भूभागमा वर्षा भइरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले भोटेकोशी, सुनकोशीसहित सिन्धुपाल्चोकका नदी जलाधार क्षेत्रमा मनसुनको प्रभाव देखिए पनि फिलहाल अवस्था कमजोर रहेको जनाएको छ। चीनको प्रहरी कार्यालयबाट अत्यधिक वर्षा हुने भन्दै आएको सूचना सार्वजनिक भए पनि विभागले हाल त्यस्तो जोखिम नदेखिएको र हल्कादेखि मध्यम वर्षासम्म मात्र हुने प्रक्षेपण गरेको छ।
विभागले मौसममा आकस्मिक परिवर्तन सम्भव भएकाले नदी आसपासका क्षेत्रमा सतर्क रहन र अद्यावधिक जानकारीको लागि नियमित रूपमा विभागको सूचना हेर्न आग्रह गरेको छ।