काठमाडौं – लम्बिँदै आएको ग्वार्को ओभरपासको निर्माण अन्ततः सम्पन्न हुँदै छ। आगामी शुक्रबारदेखि कोटेश्वर–ग्वार्को–कलंकी सडकखण्डमा पर्ने ग्वार्को ओभरपास सञ्चालनमा आउने भएको छ। सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बराहीका अनुसार हाल रंगरोगन र ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ।
४ लेनको यो ओभरपास सञ्चालनमा आएपछि कोटेश्वर–ग्वार्को–कलंकी खण्डमा दैनिक हुँदै आएको ट्राफिक जाम न्यूनीकरणमा ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।
२०७८ फागुनमा सुरु गरिएको यो ओभरपासको निर्माण कार्य ३९ महिनामा सम्पन्न भएको हो। ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो यो संरचना दुवैतर्फ चार तहमा कालोपत्र गरिएको छ।
१७ करोड ६ लाख रुपैयाँको लागतमा आशिष–समानान्तर–रेलिगेर जेभीले निर्माणको जिम्मा लिएको थियो। सुरुमा २०८० फागुनभित्र सक्ने लक्ष्य राखिएको भए पनि म्याद तीनपटक थप्नु परेको थियो। अन्ततः गत पुस १० बाट ठेकेदारलाई जरिवाना लगाएर काम गराइएको थियो।
ईपीसी मोडलमा निर्माण भएको ओभरपासको र्याम्प १०.२ मिटर अग्लो छ। निर्माणको १३ महिनामा डिजाइनमा देखिएको समस्या समाधान गर्न समय लागेपछि कार्य रोकिएको थियो। अब सञ्चालनमा आएपछि पाँच वर्षसम्म यसको मर्मतसम्भार पनि ठेक्का कम्पनीले नै गर्नेछ।
सडक विभागका अनुसार ओभरपास सञ्चालनमा आएपछि कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी खण्डमा हुने भीडभाड र ट्राफिक जाम उल्लेख्य रूपमा कम हुनेछ।