एजेन्सी – इरानको इस्लामिक रिवोल्युशनरी गार्ड कर्प्स (IRGC) ले शुक्रबार राति इसराइलका दर्जनौँ सैन्य केन्द्र, एयरबेस तथा रणनीतिक ठेगानाहरूमा हमला गरेको दाबी गरेको छ। गार्ड कर्प्सद्वारा जारी विज्ञप्तिमा उक्त कारबाहीलाई ‘ट्रू प्रॉमिस ३’ नाम दिइएको छ।
बयान अनुसार, यो अपरेशन इसराइलको पछिल्ला आक्रामक क्रियाकलापको जवाफस्वरूप गरिएको बताइएको छ। ‘‘हमलाको थप विवरण पछि सार्वजनिक गरिनेछ,’’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसबीच, इसराइली राष्ट्रिय एम्बुलेन्स सेवा ‘मगन डेविड अडोम’ (MDA) का अनुसार तेल अवीव मेट्रोपोलिटन क्षेत्रमा मिसाइल आक्रमणका कारण कम्तीमा पाँच जना नागरिक घाइते भएका छन्। घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। हाल इजरायली सुरक्षा संयन्त्र सतर्क अवस्थामा रहेको जनाइएको छ भने नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
ईरान–इजरायलबीच बढ्दो तनावले क्षेत्रीय स्थिरतामाथि थप प्रश्न उठाएको छ। विश्लेषकहरूले यस घटनाले मध्यपूर्वमा नयाँ द्वन्द्व चर्काउने सम्भावना औँल्याएका छन्।