नेपाल क्रिकेट टोलीका तीन नयाँ खेलाडी स्कटल्यान्ड प्रस्थान, आरिफ शेखको पुनरागमन

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि तीन नयाँ खेलाडीलाई स्कटल्यान्ड पठाएको छ। लिग–२ का लागि १५ सदस्यीय टोलीमा नपरेका किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह आज बिहान स्कटल्यान्ड प्रस्थान गरेका हुन्।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। यसअघि लिग–२ अन्तर्गत १५ सदस्यीय टोली नै स्कटल्यान्ड पठाइएको थियो। तर, अन्तिम म्याचअघि दुई अलराउन्डर सोमपाल कामी र गुल्शन झा चोटका कारण टोलीबाट बाहिरिएपछि टि–२० श्रृंखलाका लागि तीनजना रिजर्भ खेलाडीलाई तत्काल स्कटल्यान्ड पठाइएको हो। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, सोमपालको कुहिनो र गुल्शनको घुँडामा चोट लागेपछि उनीहरु आज बेलुकी नेपाल फर्किएका छन्।

नयाँ पठाइएका खेलाडीहरू जुन १६ तारिखमा नेदरल्यान्ड्सविरुद्ध हुने पहिलो म्याचदेखि उपलब्ध हुनेछन्। यद्यपि, ती खेलाडी प्लेइङ ११ मा समेटिने वा नसमेटिने विषयमा अहिले नै निश्चित नभएको क्यानले जनाएको छ। यदि सोमपाल र गुल्शन घाइते नभएका भए, तीनजना रिजर्भ खेलाडी स्कटल्यान्ड नपठाइने बताइएको छ।

यसैबीच, लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख भने टि–२० टोलीमा पुनः समावेश भएका छन्। प्रशिक्षक स्टुअर्ट लको आग्रहमा आरिफलाई टि–२० मा समेटिएको हो। एक समय कमजोर प्रदर्शनका कारण टिमबाट बाहिरिएका आरिफले यो श्रृंखलामार्फत टि–२० मा पुनरागमन गर्नेछन्। आरिफसहित नेपाल टि–२० टोली १६ सदस्यीय बनेको छ। नेपालले त्रिकोणात्मक श्रृंखला अन्तर्गत:

  • जुन १६ मा नेदरल्यान्ड्सविरुद्ध
  • जुन १७ मा स्कटल्यान्डविरुद्ध
  • जुन १९ मा पुनः नेदरल्यान्ड्सविरुद्ध
  • जुन २० मा स्कटल्यान्डविरुद्ध अन्तिम म्याच खेल्ने तालिका छ। नेपाल क्रिकेट टोलीले चोटपीडित खेलाडीहरूको अभावबीच नयाँ अनुहारहरूको संयोजनमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्